काठमाडाैँ, ४ असाेज । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धिको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत साउन २६ र २७ गते सञ्चालन गरेको २०७९ सालको पूरक परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको हो ।
नतिजाअनुसार ६६.९७ प्रतिशत विद्यार्थीले ग्रेडवृद्धि गरेका हुन् । परीक्षामा १ लाख १३ हजार ३१३ विद्यार्थी सहभागी भएका थिए । जसमा एक विद्यार्थीको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ । ३७ हजार ४१६ विद्यार्थीले भने ग्रेडवृद्धि गर्न सकेनन् ।
नतिजामाथि चित्त नबुझे पुनर्याेगका लागि १५ दिनको समय दिइएको छ । परीक्षाफलमा कुनै विषयको ग्रेडमा चित्त नबुझी पुनर्याेग गर्न चाहेमा ५०० रुपैयाँ तिरेर निवेदन दिन सकिनेछ ।