Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ४ असोज । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा आज दोस्रो दिन पनि शिक्षकहरूले प्रदर्शन जारी राखेका छन् । काठमाडौँको माइतीघरमा देशभरबाट आन्दोलनका लागि आएका शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् ।

नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन भएको हो । आन्दोलनका कारण उपत्यकाको ट्राफिक अस्तव्यस्त बनेको छ । बुधवारबाट सुरु भएको काठमाडौँ केन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने बताइएको छ ।

शिक्षकहरू आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ । विद्यार्थीहरू विद्यालय पुगेर फर्किएका छन् । संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ ।

उनीहरूले विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर्नुपर्ने, शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने माग पनि गरेका छन् । त्यसैगरी शिक्षकहरूले शिक्षामन्त्रीले राजीनामा दिनुपर्ने, कक्षा १२ सम्मको पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने, १० वर्षमा आवधिक बढुवाको ग्यारेन्टी गर्नुपर्ने, राहत र उच्च मावि दरबन्दी स्वीकृत गर्नुपर्ने, शिक्षा विधेयक संशोधन गर्नुपर्नेलगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *