Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज ३ गते ।

नेपालको संविधान २०७२ आजकै दिन जारी भएको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । तर मधेशमा भने कतै उत्सव र कतै विरोधको कार्यक्रम भएको छ । कतिपयले समाजिक संजालमा आफ्ना प्रोफाइल तस्बिर नै कालो राखेर असोज ३ लाई कालो दिनको रुपमा मनाइरहेका छन् ।

मधेश सरकारले पनि संविधान दिवसको अवसरमा कुनै कार्यक्रम आयोजन गरेन । अन्य पर्व तिहार तथा दिवसमा विज्ञप्ती निकालेर शुभकामना प्रदान गर्ने मुख्यमन्त्री सरोज राउतले आज कुनै विज्ञप्ती निकालेनन् । मधेशमा जसपा नेतृत्वको सरकार छ ।
संविधानको केही बुँदा असन्तुष्टि रहेकाले न समथर्न, नत विरोधमा कुनै कार्यक्रम सरकारले गरेको मुख्यमन्त्रीका स्वकीय सचिव चन्देश्वर महतोले बताए ।
‘पहिलो कार्यकालमा पनि जसपा नेतृत्वको सरकार कहिल्यै संविधान दिवस मनाएन । दोश्रो कार्यकालमा पनि हाम्रो नेतृत्व छ । जवसम्म असन्तुष्टिका बुँदा संशोधन भएर माग सम्बोधन हुँदैन । तबसम्म मधेश सरकार संविधान दिवस मनाउँदैन । मौन बस्छ’ उनले भने ।
मधेश केन्द्रीत दल कोही मौन बसे भने कोही सडकमा संविधाधन विरुद्ध प्रदर्शन नै गरका छन् ।
मधेश सरकारको नेतृत्व गरेको जसपा मौन बसेको छ । संघीय र मधेश सरकारमा सहभागी रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भने ‘असोज तीन कालोदिन भन्दै जनकपुरमा प्रदर्शन गरेको छ ।

‘आशिन ३, कारी दिन’ उल्लेखित ब्यानरसहित लोसपाका नेताकार्यकर्ताले जनकपुरमा संविधान विरुद्ध प्रदर्शन गरेका हुन् ।
केन्द्र र प्रदेशमा सत्तामा रहेका जनमत पार्टी भने एकलाइनको विज्ञप्ती निकालेर केही समर्थन र बाँकी माग सम्बोधनका लागि माग गरेको छ । ‘गणतन्त्र, संघीयता, समानुपातिकताका लागि धन्यवाद छ’, जनमतका प्रवक्ता सरद सिंह यादवले जारी गरेको विज्ञप्तीमा अगाडी लेखिएको छ ‘अपुरो संविधानलाई संशोधन गरी संस्थागत बनाउन सबैको साझा पहलका लागि जोडदार माग गर्दछौं ।’

सत्ता बाहिर रहेका वृषेशचन्द्र लाल नेतृत्वका पार्टी तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले पनि संविधान विरुद्ध कालो दिवस मनाएको छ । ‘असोज तीन,काला दिन’ उल्लेखित ब्यानर र झण्डासहित तमलोपाका नेताकार्यकर्ताले जनकपुरमा संविधानविरुद्ध प्रदर्शन गरेका हुन् ।
मधेशीको लासमाथि घोषणा गरेको संविधान दिवस असोज तीन कालोदिनकै रुपमा जहिल्यै पनि रहने तमलोपा नेता उमेश मण्डलको तर्क छ ।

मधेश केन्द्रत दल कोही मौन र कोही खुलेर संविधान दिवसको विरोध गरिरहँदा नेकपा एमाले भने जनकपुरमै शीर्ष नेताको उपस्थितिमा संविधान दिवस मनाएको छ ।
एमाले जनकपुर नगर कमिटीले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, केन्द्रिय सचिव तथा मधेश प्रदेश ईन्चार्ज योगेश भट्टराईको विशेष उपस्थितिमा बिहानै जानकी मन्दिर परिसरमा सरसफाई तथा झण्डोत्तोलन कार्यक्रम गरी संविधान दिवस मनाएको हो ।
बरिष्ठ उपाध्यक्ष पोखरेलले जनताद्वारा निर्वाचित जनप्रतिनिधिले बनाएको संविधान विश्वका उत्कृष्ट रहेको बताए । संविधानको गतिशिल दस्ताबेज भएकाले जनताको चाहना तथा मुलुकको आवश्यकता अनुसार दलीय सहमतिमा संशोधन गर्न सकिने उनको भनाइ थियो ।

यस्तै जनकपुरको गंगासागरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा सरसफाई आयोजन गरी संविधान दिवस मनाएका छन् ।
एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलले विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरी भने संविधान दिवस मनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *