Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ ३१ गते ।

जनता समाजवादी पार्टी(जसपा) नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले पार्टीलाई निर्णायक शक्ति बनाउनुपर्नेमा जोड दिनुभएको छ । जसपा मधेश प्रदेश समितिले आइतबार जनकपुरधाममा आयोजना गरेको संगठन विस्तार अभियानको उद्घाटन तथा अभिमुखिकरण कार्यक्रममा बोल्नुहुँदै उहाँले यसको लागि संगठन सुदृढ बनाउनमा जुट्नको लागि कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।


जसपालाई निर्णायक शक्ति बनाउनुपर्छ, उहाँले भन्नुभयो–चाहे त्यो आन्दोलनबाट होस् वा संसदीय प्रणालीबाट । पार्टी निर्णायक शक्ति नहुँदासम्म समावेशीमा देखिएको समस्या समाधान नहुने भएकाले सबै नेता तथा कार्यकर्तालाई संगठन सुदृढ गर्नमा जुट्नको लागि आह्वान गर्नुभयो ।

मनमनमा जसपा, घरघरमा जसपा नाराका साथ थालिएको संगठन विस्तार अभियानलाई गाउँ गाउँ र टोलटोलसम्म पुर्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
जसपा मधेश प्रदेश समितिका अध्यक्ष रामबाबु कुमार यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने जिम्मेवारी जसपाको रहेको बताउनुभयो ।


कांगे्रस र कम्युनिष्ट पार्टीले संघीयता संस्थागत हुन दिन नचाहेको दावी गर्नुहुँदै उहाँले यो जिम्मेवारी पनि जसपामा आएको तर्क गर्नुभयो ।
राजनीति नियुक्तीमा एक जातीय वर्चश्व कायम रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष यादवले यसको विरुद्ध पार्टीले संघर्ष गर्नुपर्ने धारणा उहाँले राख्नुभयो ।


मिशन २०८४ को तयारीमा जुट्नको लागि आह्वान गर्दै उहाँले पार्टीका लागि काम गर्नुका साथै जनतामाझ लोकप्रिय नेता कार्यकर्ताले अवसर पाउने जानकारी समेत दिनुभयो ।
सो अवसरमा मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता विरोधी तत्वहरु सल्बलाइरहेको जिकिर गर्नुहुँदै यसतर्पm सबैलाई सचेत हुनको लागि आग्रह गर्नुभयो । प्रदेश सरकारले उपलब्ध श्रोतसाधनको अधिकतम उपयोग गरेर प्रदेशवासीलाई सरकारको अनुभूति गराउने विश्वास मुख्यमन्त्री यादवले दिलाउनुभयो ।


मुख्यमन्त्री यादवले २०७९ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेसितको गठबन्धनले गर्दा पार्टीले क्षति व्यहोर्नुपरेको जिकिर गर्नुभयो ।
सो अवसरमा पार्टी कार्यकारिणी समिति सदस्यहरु राजकिशोर यादव, नवल किशोर साह, मधेश प्रदेश इन्चार्ज मृगेन्द्रसिंह यादव, गोविन्द चौधरी,निवर्तमान मुख्यमन्त्री लालबाबु राउत, मनिष सुमन, केन्द्रीय सदस्य दिपक कार्की, राष्ट्रियसभा सदस्य खालिद सिद्दिकी, उर्मिला साह लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । प्रदेशका मुख्य सचिव दिनेश यादवले संचालन गर्नुभएको कार्यक्रमा मधेश प्रदेश समितिका उपाध्यक्ष युसुफ अलीले संगठन विस्तार अभियान निर्देशिकाको बारेमा जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *