सामाजिक फीड-
जनकपुरधाम, भदौ २९ गते ।
नालामा खसेर मत्यु भएका बालक दुई वर्षीय रोहन मुखियाको घटना ठेकेदार र सरकारको चरम लापरबाहीले भएको खुलेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २५ लोहनामा शुक्रबार बिहान स्थानीय रञ्जित मुखियाका छोरा रोहनको पीसीसी ढलान भएको सडकमा नछोपिएको नालमा मृत्यु भएको थियो । सो घटना सरकारी संयन्त्र, उपभोक्ता समिति, जनप्रतिनिधिको चरम लापरबाहीले भएको पाइएको छ ।
वडा नं. २५ का वडाध्यक्ष चन्देश्वर साहलाई स्थानीयले पटक पटक ढक्कनी लगाउन पहल गरिदिन सहयोग माग्दा पनि गैरजिम्मेबार बनिरहे । उनले आफूलाई नालाको खुल्ला छ भन्ने थाहा नरहेको तर्क दिँदै पन्छिए ।
बालक रोहनले ज्यान गुमाएको सडक र नाला आर्थिक वर्ष २०७७।०७८ मा बनेको थियो । संघीय आयोजना कार्यान्वयन इकाई धनुषा, जनकपुर कार्यालय मार्फत ५० लाखको लागतमा स्थानीय सम्भु मण्डल अध्यक्ष रहेको उपभोक्ता समितिले ३ सय ५० मिटर बाटो पीसीसी ढलान र नालाको काम गरको थियो । त्यो काम उपभोक्ता समितिले स्थानीय ठेकेदार अजित मण्डल मार्फत गरेका थिए । अजित उपभोक्ता समितिका अध्यक्ष सम्भुका भाई हुन् ।
ठेकेदार अजितले बाटो ढलान गरे । तर नालाको ढक्कनी लगाएनन् । केवल उपभोक्ता समितिका अध्यक्ष सम्भुको घर अगाडी बाटोमा तीनवटा चेम्बरमा ढक्कनी लगाइएको छ । ५८ वटा चेम्बरमा ढक्कनी लगाउने पर्ने थियो । तर, उपभोक्ता समिति अध्यक्ष सम्भुले केवल आफ्नो घर अगाडीमा लगाए । अन्य ठाउँमा नलगाएपछि खुल्लै छन् । ठेकेदार भनिएका अजितको घरको छतमा भने त्यति बेलै लगाउन किनिएको ढक्कन थुपारिएको छ । नलगाइएपछि केही स्थानीयले जोखिमलाई टार्न आफ्नै निजी बनाएर ढक्कनी लगाएका छन् ।
उपभोक्ता समितिका अध्यक्ष घरमा भेटिएनन् । उनको मोबाइलमा फोन लाग्दैन । भेटिएका उपभोक्ता समितिका कोषाध्यक्ष अनुप मण्डलका अनुसार काम ठेकेदार मार्फत भएको थियो । ५० लाखको योजनामा ४२ लाख रुपैयाँ भुक्तानी भएको भन्ने हिसाब आफूलाई अध्यक्ष सम्भुले सुनाएको उनले बताए ।
‘ढक्कनीको काम भएन । जसको कारण ४२ लाख रुपैयाँ मात्र भुक्तानी भएको मलाई सम्भुले सुनाए । म लेखपढ गर्न जान्दिन । सबै उनैले गरे’ अनुप भन्छन् ।
अनुपका अनुसार सात सदस्यीय उपभोक्ता समितिमा सदस्यहरुमा देवनारायण मण्डल, अमित चौधरी, जिरेखन मण्डल, मुकेश दास, रञ्जित साह रहेका थिए । ठेकेदार अजितले आफू उपभोक्ता समितिबाट काम गरेको स्वीकारे । उनले पौनै चारसय मिटर सडक आफूले बनाएको बताए । समयमा नालाको चेम्बरमा ढक्कनी लगाउन नसकेपछि कार्यालयले काटेको तर्क उनको छ ।
‘मैले ढक्कन बनाउन अर्डर दिएको थिएँ । ३० वटा जति बनिसकेको थियो । तर पुरै लगाउन नसक्दा कार्यालयले भुक्तानी दिएन । त्यो मेरो ढक्कनी मेरो घरको छतमा । यो विषयमा विवाद पनि भयो । मैले भने भुक्तानी दिन भन्नुस् । म लगाइदिन्छु ।’ उनले भने ।
उनले आफूलाई ५० लाख मध्ये ढक्कनको काटेर ४४ लाख मात्र भुक्तानी भएको दावी गरे । तर, संघीय आयोजना कार्यान्वयन इकाइका साइड हेर्ने कर्मचारीको कुरा मेल खाँदैन ।
संघीय आयोजना कार्यान्वयन इकाई कार्यालयका सव अभरसियर मनोज कुमार मण्डलले ५२ वटा ढक्कनी जडान गरिएको साईड भिजिट गरेर उपभोक्ता समितिलाई भुक्तानी गरेको दावी गरे ।
‘हामीले साईड भिजिट गरेका थियौं । चेम्बरमा ५२ वटा जति ढक्कन जडान गरिएको थियो । केही काम र ६–७ वटा ढक्कन मात्र लगाउन बाँकी थियो । त्यसको अढाई लाख रुपैयाँ काटेर भुक्तानी कार्यालयले दिएको थियो’ सव अभरसियर मण्डलले दावी गर्छन् ।
स्थानीयले नालामा कहिल्यै ढक्कनी नै नलगाइएको दावी गर्छन् । आयोजना कार्यान्वयन इकाई जनकपुरका प्रमुख प्रदीप खनाल भने काम सम्पन्न गरेकै अनुसार भुक्तानी भएको बताए । ‘चेम्बरमा ढक्कनी लगाइएपछि मात्र भुक्तानी भएको हुन सक्छ । म अहिले काम विशेषले बाहिर छु । बच्चा नालामा खसेर मृत्यु भएको घटनामा विषयमा मलाई तपाइबाटै थाहा भयो । यो विषयमा म उपभोक्ता समितिसंग बुझ्छु ।’ उनले भने ।
कार्यालयको लापरबाहीले मृत्यु भएको घटनामा आफूहरुको दोष नरहेको उनको जिकिर छ ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले यो काम उपमहानगरपालिकाबाट नभएको कारण आफूलाई थाहा नभएको बताए । उनले घटनाप्रति दुख व्यक्त गर्दै आफू काठमाडौंबाट आए लगतै उनको घर पुग्ने बताए । लापरबाही गर्नेलाई कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ ।
कार्यालय, ठेकेदार, जनप्रतिनिधको कुराले यो घटनाको जिम्मेबार सबै पक्ष देखिन्छन् ।