रौतहट, २९ भाद्र । रौतहटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार फतुवा बिजयपुर नगरपालिकास्थित सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।
निजगढतर्फ जाँदै गरेको ना. ५ ख ३४५१ नम्बरको ट्रकले ना. ५१ पा ४९४१ को मोटरसाइकललाई ठककर दिँदा चालक फतुवा बिजयपुर १ का ३५ वर्षीय उमेश यादवको मृत्यु भएको हो ।
ट्रकले ब्याक गरेर किच्दा मोटरसाइकल चालकको ज्यान गएको आरोपसमेत स्थानीयवासीले लगाएका छन् । घटनालगतै ट्रक चालक बारा निजगढ–६ का मुकुन्द पोखरेलमाथि स्थानीवासीले हातपात गरेका थिए ।
पोखरेललाई इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट गएको टोलीले सुरक्षा दिँदा स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको इलाका प्रहरी कार्यालय बिजयपुर लक्षमिनियाका प्रमुख इन्स्पेक्टर विजय कार्कीले बताए। झडपमा प्रहरी कार्यालयको झ्यालको सिसा फुटेका छन् भने केही प्रहरी घाइते भएका छन् ।
ट्रक चालक पोखरेललाई उपचारका लागि वीरगंज अस्पताल पठाइएको प्रहरीले बताएको छ। घटना भएलगत्तै अपरान्ह ३ बजेदेखि नै मृतकका आफन्तले बन्कुल निजगढ सडकखण्ड अन्तर्गत सन्तपुर दोस्तिया चोकमा शव राखेर बाटो अवरुद्ध गरेका छन् । उनीहरूले दोषीमाथि कारबाही र क्षतिपूर्तिको मागसहित नाराबाजी गरेका छन् ।