काठमाडौँ, २८ भदौ । चिकित्सकहरूमाथि कुटपिट भएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
सन्चो अस्पताल हेटौंडामा कार्यरत चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि आक्रमण गरी घाइते बनाएको भन्दै संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघका महासचिव डा. सञ्जीव तिवारीले ७२ घण्टाभित्र घटनामा संलग्न दोषीलाई कानूनी कारबाही नगरिए देशभर आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द गरेर ज्यानको सुरक्षामा खटिन बाध्य हुने चेतावनी दिए । एक समूहले डा. थापा र बिडारीमाथि ज्यान मार्ने उद्देश्यले शारीरिक हमला गरी घाइते बनाएको भन्दै सरकारले दोषीमाथि कडा कारबाही गर्नुपर्ने उनले बताए ।
गत भदौ २७ गते डा. थापा र डा. बिडारीमाथि सन्चो अस्पतालमा बिरामीहरूको उपचार गरिरहेको अवस्थामा आक्रमण भएको थियो । डा. थापा र डा. बिडारीमाथि भएको कुटपिटको घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरिसकेको छ । बुधबार चिकित्सकहरूमाथि अस्पतालभित्रै आक्रमण भएको थियो ।