सामाजिक फीड-
जनकपुरधाम, भदौ २७ गते ।
धनुषाको ढल्केवरमा नेपाली काँग्रेसका नेताकार्यकर्ताले आज साँझ मसाल जुलुस प्रर्दशन गरेका छन् । केहीदिन अघि कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको विरोधमा उनीहरुले मसला जलुस प्रदर्शन गरेका हुन् ।
प्रर्दशनका सहभागीले ‘हत्या हिंसा बन्द गर, महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारवाही गर, नेपाली कांग्रेस जिन्दावादजस्ता नारा लगाएका थिए । ढल्केवरस्थित कृषि बजार अगाडिबाट शुरु गरिएको मसाल जुलुस ढल्केवर चोकको नगर परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो ।
नेपाली कांग्रेस नगर कार्यसमिति मिथिला नगरपालिकाकाको आयोजनामा मसाल जुलुस निकालिएको थियो । जुलुस प्रर्दशनमा प्रदेश सांसद तथा पार्टीका क्षेत्रीय सभापति कुवरकान्त झा, मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो, क्षेत्रीय सचिव बुधेश्वर महतो पार्टीका प्रदेश सदस्य गुदर यादव, नगरसभापति जोगी महतो, राजकुमार महतो, श्रीराम यादव, शिवचन्द्र यादव रामएकवाल यादवलगायत करिब तीन सय भन्दा बढी पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि गत बुधबार काठमाडौंमा धारिलो हतियार (खुकुरी) प्रहार भएको थियो ।