जनकपुरधाम, २६ भाद्र । मधेश प्रदेशकी सांसद् स्वर्गीय विन्दुकुमारी यादवलाई जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्तेष्टि गरिएको छ । स्वर्गीय यादवलाई उनकी जेठी छोरी स्नेहाले दागबत्ती दिएकी हुन् । यादवका दुई छोरी स्नेहा र स्मिनी छन् ।
अन्त्येष्टिमा मधेश प्रदेशका अर्थमन्त्री संजयकुमार यादव, प्रदेशसभा सदस्य रामआशिष् यादव, ममता मण्डल ,जसपा जिल्ला अध्यक्ष पशुपति यादव, नेता अम्भुप्रसाद साहलगायत नेता तथा कार्यकर्ता, परिवारजन तथा सर्वसाधारण उपस्थित थिए ।

मधेश प्रदेशकी सांसद् यादवको ४४ वर्षको अल्पआयुमै निधन भएको हो । दुई वर्षदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित यादवको मंगलबार बिहान साढे ८ बजे निधन भएको थियो ।

जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्यसमेत रहेकी सांसद् यादव १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरधामको आईसीयू कक्षमा उपचाररत थिइन् ।

यादव धनुषाबाट समानुपातिक सांसद् थिइन् । दोस्रो मधेश आन्दोलनमा उनको सक्रिय भूमिका थियो । सांसद् यादवको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन प्रदेश सभामुख रामचन्द्र मण्डल, प्रदेश सांसदहरू र जसपासहित विभिन्न पार्टीको नेताहरू जनकपुरधामस्थित उनको निजी निवासमा पुगेका थिए ।
सांसद् यादवको निधनप्रति मुख्यमन्त्री सरोजकुमार यादवले शोक व्यक्त गरेका छन् ।