Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २६ भाद्र । विदेश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । वैदेशिक रोजगारीका लागि मलेसिया र क्यानडा पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको प्रहरी टोलीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका–२ घर भई हाल टोखा नगरपालिका–१० बस्ने २७ वर्षीया तुलसा वाग्ले (अधिकारी) तथा झापाको गौरादह नगरपालिका–७ घर भई हाल काठमाडौँको कागेश्री मनोहरा नगरपालिका–१ सानटारी बस्ने २४ वर्षीय सुजन पुरी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

वाग्लेलाई खिमलाल बढामगरसमेत दुई जनालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै रकम ठगी गरी फरार रहेको तथा पुरीलाई भूमिराज राईलाई क्यानडा पठाइदिने भन्दै दश लाख पचासी हजार रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *