काठमाडाैँ, २४ भाद्र । ‘मिस युनिभर्स नेपाल २०२३’ को उपाधि जेन दिपिका ग्यारेटले जितेकी छन् ।
काठमाडौँमा भएको प्रतियोगितामा २१ प्रतिस्पर्धीलाई पछि पार्दै दिपिकाले ‘मिस युनिभर्स नेपाल’ को उपाधि जितेकी हुन् । उनलाई सन् २०२२ की मिस युनिभर्स सोफिया भुजेलले ताज लगाइदिएकी थिइन् ।
दिपिकाले उपाधिसँगै इलेक्ट्रिक स्कुटर प्राप्त गरेकी छन् । साथै उनले अब ‘मिस युनिभर्स’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । प्रतियोगितामा गरिमा घिमिरे फर्स्ट रनरअप, बुद्धिसारा सुनार सेकेन्ड रनरअप, सितास्मा पोखरेल थर्ड रनरअप र अभिलाशा लम्साल फोर्थ रनरअप घोषित भएका छन् ।
यस वर्षको ‘मिस युनिभर्स नेपाल’ को निर्णायकमा रविराज कर्णिकार, उपल मजुमदार, सौरभ ज्योति, उपासना घिमिरे, संगीता पहाडी, आयुशा कार्की श्रेष्ठ, सुरक्षा पन्त, नन्दिनी एल थापा रहेका थिए ।