सर्लाही, २३ भाद्र । कृष्णाष्टमीको मूर्ति बिसर्जनका क्रममा दुई पक्षबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिन सर्लाहीको सदरमुकाम मलंगवामा कर्फ्यु जारी भएको छ। शुक्रबारदेखि दुई पक्षबीच उत्पन्न तनाव बढ्न नदिन शनिबार अपरान्ह ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीले कर्फ्यू जारी गरेको हो ।
प्रशासनले पुरानो मलंगवा नगरक्षेत्र पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा अस्थायी प्रहरी चौकी र बाबा पेट्रोल पम्प सीमा क्षेत्रभित्र कसैले आवतजावत गर्न नपाउने, भेला हुन नपाउने, बाहिर हिलडुल गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरेको छ ।
शुक्रबार साँझ मलङ्गवा नगरपालिका चोकमा कृष्ण जन्माष्टमीको अवसरमा निर्माण गरिएको कृष्ण भगवानीको मूर्ति विसर्जन गरी फर्किने क्रममा विवाद भएको थियो । पुरानो बसपार्क क्षेत्रमा दुई पक्षबीच झडप भएको थियो । सोही विषयलाई लिएर शनिबार दिउँसो पनि झडप भएको थियो । अवस्था नियन्त्रणमा लिन आज दिउँसो प्रहरीले १३ सेल अश्रु ग्यास र पाँच राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी दिपेन्द्र पंजियारले जानकारी दिएका छन् ।
विवाद समाधान गर्न सर्वदलीय र सर्वपक्षीय बैठक बसेर सामाजिक सद्भाव कायम गर्न अपिल गर्दा पनि आज बिहानैदेखि तोडफोड, आगजनी, ढुंगामुढा प्रहारलगायतका गतिविधि भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् ।
ढुङ्गा लागेर लागेर मूर्ति विसर्जनमा सहभागी भएका केही व्यक्ति र प्रहरीसमेत घाइते भएका छन् ।
