शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, भदौ २३ गते ।
विश्वनाथ साह शुक्रबार दिउँसो २ बजे प्रादेशिक अस्पतालको आस्मिक कक्षको आरभी ( एन्टी रेविज भ्याक्सिन) शाखमा पुगे । एन्टी रेविज भ्याक्सिनको तेश्रो डोज लिन । तर, भ्याक्सिन सकिएको थियो । अगामी आइतबार भ्याक्सिन लिन आउन भन्दै उनलाई स्वास्थ्यकर्मीले फर्काए । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ कनकपट्टी घर भएका ५६ वर्षीय विश्वनाथ यसअघि बुधबार पनि भ्याक्सिन लागि आएका थिए । तर त्यसदिन पनि भ्याक्सिन छैन भनेर फर्काएको विश्वनाथको गुनासो छ । उनलाई भदौ १४ गते खेत जाँदै गर्दा झाडीमा बसेका कुकुरले बायाँ खुट्टामा टोकेको थियो ।
शुक्रबार प्रादेशिक अस्पतालबाट भ्याक्सिन नहुँदा फर्किने विश्वनाथ एकाला थिएनन् । उनी भन्दा अघि भ्याक्सिन लिन आएका दर्जनौ बिरामी निराश भएर फर्किसकेका थिए । ‘केहीदिनदेखि भ्याक्सिन सकिएको छ । आज त उहाँ जस्तो एकसयभन्दा बढी बिरामीलाई हामीले फर्काउनु पर्यो’ एआरभी शाखाकी फोकलपर्सन कविता चौधरीले सुनाइन् ।
प्रादेशिक अस्पतालमा एकसातादेखि एन्टी रेविज भ्याक्सिनको अभाव छ । प्रादेशिक अस्पतालमा दैनिक कुकुकर, स्याल, बिरालो, बाँदर टोकेका सयजनाको हाराहारीमा बिरामी आउने गरेका छन् । उनीहरुलाई यसरी नै फर्किाउने गरिएको छ । कसैले बाहिरै महगो शुल्कमा निजीमा किनेर लगाउँछन् भने कोही अर्को दिन आउँछन् ।
एक व्यक्तिलाई एकसाता भित्र तीन डोज भ्याक्सिन लगाउने गरिन्छ । पछिल्लो समय भ्याक्सिनको खपत अनुसारको आपुर्ति नहुँदा बिरामीलाई फर्काउनु परेको छ । अस्पतालका प्रवक्ता डा. रामज्ञान यादवका अनुसार आर्थिक वर्ष २०७९।०८० को हालसम्म ३ हजार १८१ भ्याक्सिन बिरामीलाई लगाइएको छ ।
अस्पतालका अकास्मिक शाखा ईन्चार्ज विरेन्द्र मण्डलका अनुसार ५० वटा भ्याक्सिन मात्र संचित हुँदादेखि नै प्रदेश स्वास्थ्य आपुर्ति केन्द्र जनकपुरबाट माग्ने गरिएको छ । तर, निरन्तर नपाएको अस्पतालको उनको गुनासो छ ।
आपुर्ति केन्द्रमा माग अनुसारको भ्याक्सिन करिब दुई महिनादेखि अभाव छ । जसको कारण मधेश प्रदेशका सरकारी अस्पतालहरुमा भ्याक्सिनका अभाव झेल्नु परेको छ । बिरामी सरकारी अस्पतालबाट फर्किन बाध्य छन् ।
‘दुई महिनादेखि हामी माग अनुसारको भ्याक्सिन हामीले स्थाहरुलाई उपलब्ध गराउन सकेका छैनौ । संघ सरकारले न्युन संख्यामा मात्रै भ्याक्सिन उपलब्ध गराउँदा यस्तो परिस्थित आएको हो’ प्रदेश स्वास्थ्य आपुर्ति केन्द्रका सूचना अधिकारी रामहृदय यादव सुनाउँछन् ।
संघ सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वस्थ्य सेवा विभाग अन्तर्गतको स्वास्थ्य आपुर्ति शाखाले देशैभर एन्टी रेविज भ्याक्सिन उपलब्ध गराउने गरेको छ । यसअघि आर्थिक वर्ष २०७७।०७८ मा प्रदेश सरकारले दिएको बजेटबाट भ्याक्सिन खरिद गर्दा पर्याप्त थियो । तर आ.व. २०७८।०७९ देखि भ्याक्सिन खरिद गर्न सरकारले बजेट कट्टा गर्यो । जसको कारण स्वास्थ्य सेवा विभागको भर पर्दा अभाव झेल्नु परेको सूचना अधिकारी यादव बताउँछन् ।
सूचना अधिकारी यादवका अनुसार मधेश प्रदेशमा मासिक चार हजार भन्दा बढी एन्टी रेविज भ्याक्सिनको आवश्यक्ता छ । तर, स्वास्थ्य सेवा विभागले थोरै थोरै मात्रामा उपलब्ध गराउने गरेको छ । जसले अभावको सामना गर्नु परेको छ ।
‘स्वास्थ्य सेवा विभागको भर परेदेखि न्युन मात्रामा मात्र भ्याक्सिन उपलब्ध हुने गरेको छ । तर माग बढी छ । त्यसैले अभाव भइरहन्छ’ उनी भन्छन् ।
स्वास्थ्य सेवा विभागको स्वास्थ्य आपुर्ति शाखाले केहीदिन प्रयोगशालामा परीक्षण गर्दा मात्र अभावको अवस्था रहेको जनाएको छ । अहिले सबैतिर भ्याक्सिन पठाइसकिएको शाखाका प्रमुख डा. सुरेन्द्र चौरसिया बताउँछन् ।
‘यो बीचमा भ्याक्सिन आइसकेको थियो । त्यसको औषधि टेष्टको लागि प्रयोगशालामा पठाएका थियौं । टेस्ट भइसक्यो । हामी पठाउन सुरु गरिसकेका छौं । पुगिसकेको होला वा बाटोमा होला’ शाखा प्रमुख चौरसिया भन्छन् ।
मधेश प्रदेशमा भ्याक्सिन लाग्ने प्रायः सबै सरकारी हस्पिटलमा प्रदेश आपुर्ति केन्द्र मार्फतबाटै उपलब्ध गराउने गरिएको छ । सरकारी हस्पिटलमा भ्याक्सिन नपाउँदा बिरामी निजीबाट महगोमा किनेर लगाउन बाध्य छन् । निजी फार्मेसीमा प्रति भ्याक्सिन ६ सयभन्दा बढी रुपैयाँमा किनेर लगाउने गरिएको बिरामीहरुको गुनासो छ ।