रौतहट, २२ भाद्र । रौतहटमा एक पुजारीमाथि आक्रमण भएको छ । गएराति दूर्गा भगवती गाउँपालिकामा पुजारी मिश्रीलाल साहमाथि अज्ञात समूहले धारिलो हतियार प्रहार गरेको हो ।
दुर्गा भगवती गाउँपालिका–३ देवीपर्सा टोलस्थित श्रीरामजानकी मन्दिरका पुजारी साहमाथि मन्दिर छेउमै आक्रमण भएको छ । जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले घटनाको पुष्टि गर्दै आक्रमणमा संलग्न रहेको आशंकामा एक जनालाई पक्राउ गरिएको जनाएका छन् ।
पक्राउ परेका व्यक्तिको पहिचान सार्वजनिक गरिएको छैन । घाइते पुजारीको अवस्था सामान्य रहेको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यसअघि २०७७ साल भदाै ३ गते राति माधवनारायण नगरपालिका-२ स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय राम साहको गाेली हानी हत्या गरिएको थियो ।