Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २० भदौ । मलेसियामा जारी आईसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीचको खेल वर्षाको कारण रद्द भएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित सेलाङग्रटर्फ क्लबमा हुने भनिएको दुई देशबीच खेलमा वर्षाका कारण टससमेत हुन नसकेपछि दुवै टोलीले एक एक अङ्क बाड्दै खेल टुङ्गाए । यससँगै यूएई समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने नेपाल समूह ‘ए’ को उपविजेताका रूपमा सेमिफाइनलमा पुग्यो ।

दुवै टोलीले समान पाँच खेलमा ९ अङ्क जोड्दै नेटरनरेटकका आधारमा विजेता र उपविजेता टोलीका रूपमा सेमिफाइनलमा पुगेका हुन् । नेपालले अब समूह ‘बी’ को विजेतासँग यही भदौ २२ गते सेमिफाइनल खेल्नेछ । नेपाल फाइनलमा पुग्न सके सन् २०२४ मा हुने ग्लोबल टि २० विश्वकप छनोट खेल्न पाउनेछ ।

त्यसैगरी समूह ‘बी’ मा हङकङ तीन खेलमा ६ अङ्कका साथ शीर्ष स्थानमा छ । थाइल्याान्ड पनि समान तीन खेलमा ५ अङ्कका साथ दोस्रो स्थानमा छ । हङकङ र थाइल्यान्डबीचको खेल आजै हुनेछ । उक्त खेलको विजेतासँग नेपालले सेमिफाइनलमा खेल्नेछ भने यूएईले उपविजेतासँग खेल्नेछ ।

यसअघि नेपालले समूह चरणको खेलमा अपराजित रहेको थियो । नेपालले घरेलु टोली मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट, भुटानलाई ३ विकेट र कतारलाई ९ विकेटले पराजित गर्दै विजयी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *