काठमाडौँ, १९ भाद्र । सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवसहित तीन जनामाथि भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियारले अध्यक्ष यादव, लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर वीरेन्द्रकुमार यादवउपर पाँच लाख बिगो कायम गरी मंगलबार विशेष अदालतमा आरोप-पत्र दायर गरेको हो ।
सोलार जडानलगायतका योजनाको भुक्तानीबापत सेवाग्राहीसँग दुई लाख बराबरको घुस लिँदै गरेको अवस्थामा आयोगको बर्दिबासबाट खटिएको टोलीले गत साउन ३१ गते लेखापाल पक्राउ परेका थिए । आयोगको टोलीले यादवसँग थप तीन लाख बराबरको चेकसमेत बरामद गरेको थियो ।
यो घुस प्रकरणमा विष्णुपुर गाउँपालिकाका अध्यक्ष यादव, लेखापाल यादव र एमआईएस अपरेटर यादवको मिलोमतो रहेको पाइएको आयोगको आरोप छ । तीनै जनामाथि विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
यसैबीच, घुस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष यादव पदबाट निलम्बित भएका छन् । आयोगले भदौ ६ गते नियन्त्रणमा लिएका अध्यक्ष यादवमाथि विशेष अदालतबाट म्याद थप गराई थुनामा राखेको हो ।