Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १९ भदौ । पहिलो पटक एसिया कप क्रिकेट खेलेको नेपाली खेलाडीलाई भारतीय खेलाडी र प्रशिक्षकले मेडल लगाइदिएका छन् ।

नेपालले आफ्नो दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भए पनि भारतकै खेलाडी र प्रशिक्षकले नेपाली खेलाडीलाई मेडल लगाइदिएका हुन् ।

खेलपछि नेपाली टिमले भारतीय टिमका खेलाडी प्रशिक्षकहरूसँग भेट गरेपछि उनीहरूले नेपाली टिमलाई मेडल लगाइदिएका हुन् ।

भारतीय मुलकै प्रशिक्षक मोन्टी देसाईले नेपाली टिमको जिम्मेवारी लिएसँगै उनले ह्याप्पी ड्रेसिङ रुमको माहोल सिर्जना गरेका छन् । त्यही अनुसार नेपालले खेलेको विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मेडल लगाएर सम्मान गर्ने चलन मोन्टीले बसालेका छन् ।

सोहीअनुसार भारत विरुद्धको खेलपछि तीन नेपाली खेलाडीलाई मेडल दिइयो । मेडलहरू भारतीय प्रशिक्षक र खेलाडीको हातबाट दिइएको छ । भारत विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका ओपनर ब्याटर आसिफ शेख, अलराउण्डर सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीलाई मेडल दिइएको थियो ।

भारतका स्टार ब्याटर विराट कोहलीले आसिफलाई मेडल लगाइदिए । यस्तै अलराउण्डर हार्दिकले सोमपाललाई र प्रशिक्षक राहुल द्रविडले दीपेन्द्रलाई मेडल लगाइदिएका थिए ।

नेपालका प्रमुख प्रशिक्षक मोन्टीले सोमपाललाई स्टार अलराउण्ड र दीपेन्द्रलाई स्टार फिल्डरको रूपमा चिनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *