सामाजिक फीड-
जनकपुरधाम, भदौ १७ गते ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने उत्तेजक धम्की दिएकोप्रति आलोचना भएपछि उनको सचिवालयले विज्ञप्ती जारी गरेको छ ।
मेयर बालेनको निजी सचिवालयले सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेमाथि प्रहरीले चेकजाँचका नाममा अनावश्यक केरकार गरिएको बताएको छ ।
शनिबार राति फेसबुकमार्फत महानगरपालिकाको गाडी रोके सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका थिए । उनले महानगरको गाडी कसले र किन रोकेको थियो भन्ने खुलाएका थिएनन् । उत्तेजक अभिव्यक्ति दिएको भन्दै बालेनको सार्वजनिक आलोचना भएपछि आइतबार उनको सचिवालयले विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी गराएको छ ।
बालेनको स्वकीय सचिवालयका अनुसार बालेन दम्पतीका शिशु मेडिसिटी अस्पताल एनआईसीयूमा उपचाररत छन् । शनिबार साँझ बालेनकी पत्नी सविनाको स्वास्थ्यमा जटिलता देखिएपछि बालेनले चढ्ने महानगरको गाडीमा अस्पताल गएकी थिइन् ।
आफ्नो स्वास्थ्य परीक्षण गर्नुका साथै शिशुलाई स्तनपान गराएर घर फर्किँदा सविना चढेको गाडीलाई कोटेश्वरमा चेकजाँचमा बसेको ट्राफिक प्रहरीले रोकेको थियो । त्यस क्रममा प्रहरीले दुर्व्यवहार गरेको बालेनको स्वकीय सचिवालयले जनाएको छ ।
सार्वजनिक विदाको दिन प्रयोग गर्न मिल्ने अनुमति लिएको भए पनि त्यतिबेला गाडीमा थिएन ।

