Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १५ भदौ । आईसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले जित हासिल गरेको छ । मलेसियाको क्वालालाम्पुरमा भएको खेलमा नेपालले बहराइनलाई १० विकेटले हराएको हो । लगातार दोस्रो जित निकाल्न सफल नेपालले सेमिफाइनल पुग्ने सम्भावना मजबुत बनाएको छ ।

जितको लागि ३२ रनको सामान्य लक्ष्य नेपालले २.५ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्‍यो । नेपालको जितमा ओपनर कविता कुँवर १४ बलमा ३ चौकासहित १८ रनमा अविजित रहिन् । सीताराना मगर ३ बलमा २ रनमा अविजित रहिन् ।

टस जितेर पहिले ब्याटिङ गरेको बहराइन १५.४ ओभरमा ३१ रनमा अल आउट भएको थियो । बहराइनकी कप्तान दीपिकाले २० बलमा १ चौकासहित सर्वाधिक ११ रन बनाइन् । नेपालको बलिङ सामु बहराइनका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । जसमा ६ खेलाडी शून्यमा आउट भएका थिए ।

नेपालको जितमा इन्दु बर्माले ४ ओभरमा २ मेडनसहित ५ रन खर्चेर सर्वाधिक ३ विकेट लिइन् । लेग स्पिनर खुशी डंगोलले १.४ ओभरमा १ मेडनसहित कुनै रन नदिइ २ विकेट लिइन् । कविता कुँवरले ४ ओभरमा २ मेडनसहित ७ रन खर्चेर १ विकेट लिइन् । पुजा महतोले २ ओभरमा ४ रन खर्चेर १ विकेट लिइन् । रुविना क्षेत्रीले ३ ओभरमा ८ रन खर्चेर १ विकेट लिइन् ।

यसअघि नेपालले पहिलो खेलमा घरेलु टोली मलेसियालाई पाँच रनले हराएको थियो । नेपालले अब आइतबार भुटान, मंगलबार कतार र बुधबार यूएईसँग खेल्नेछ । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि–२० विश्वकप खेल्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *