काठमाडौँ, १४ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो पाँचदिने चीन भ्रमण रद्द गरेको घोषणा गरेका छन् ।
चीनले सोमबार जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतभित्र देखाएपछि त्यसको विरोध स्वरुप आफ्नो चीन भ्रमण रद्द गरेको घोषणा गरेका हुन् ।
बालेनले बिहीबार फेसबुकमा लेखेका छन्, ‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौँ । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौँ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’

