मलेसिया, १४ भाद्र । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ। बिहीबार नेपालले घरेलु टिम मलेसियालाई ५ रनले पराजित गरेको हो । नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले ९ विकेटको क्षतिमा ७९ रन मात्र जोड्न सक्यो । मलेसियका लागि अइना हमिजाहले १४ रन र दुराइसिंहमले २८ रनको योगदान गरे ।
मलेसियाले १७ ओभरको तेस्रो र चौथो बलमा लगातार दुई विकेट गुमाउँदा खेल नेपालको पक्षमा गएको थियो । सो ओभरमा सीता रानामगरले मीरा स्माइललाई रनआउट गर्दा अर्को बलमा कविता जोशीले दुराइसिंहमलाई आउट गरेकी थिइन् ।
बलिङमा नेपालकी कविता जोशीले २ ओभरमा ५ रन खर्चिदा २ विकेट लिइन् । यस्तै कविता कुँवरले २ विकेट लिँदा १० रन दिइन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा ८४ रन मात्र जोडेको थियो । नेपालका लागि सीता राना मगरले ३८ रन जोड्दा कप्तान रुबिना क्षेत्रीले १२ रन बनाइन् ।
यस्तै अप्सरी बेगमले १७ रनको योगदान गरिन् । अरु ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए । बलिङमा मलेसियाकी अइना हमिजाहले २ विकेट लिइन् । अब नेपालले दोस्रो खेलमा भोलि बहराइनसँग खेल्नेछ ।
मलेसियामा सुरु प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन् । नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा ५ टिम छन् । प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्नेछन् । विश्वकप छनोटमा १० टिम सहभागी हुँदा २ टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।