विराटनगर, १२ भदौ । मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार चिकित्सकको मृत्यु भएको छ ।
आज बिहान उर्लाबारी नगरपालिका– ४ स्थित ओमसाई पेट्रोल पम्पनजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिँदा डाक्टर निरज यादवको मृत्यु भएको हो ।
पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको प्रदेश ३–००१ क ००९५ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका डाक्टर यादवको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
टिपर र चालक झापाको मेची नगर नगरपालिका– ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार डाक्टर यादव झापाको कनकाई अस्पताल र उर्लाबारीको अरनिको अस्पतालमा कार्यरत थिए । घरबाट काममा जाने क्रममा उनी दुर्घटनामा परेका हुन् ।