Samajik Feed – News Portal from Nepal

सुनसरी, १० भाद्र । सुनसरीको धरानमा आइतबार बिहानदेखि निषेधाज्ञा हटेको छ ।

स्थानीय प्रशासनले निषेधाज्ञा हटाएसँगै आइतबार बिहानैबाट धरानमा चहलपहल सुरु भएको छ । साम्रदायिक सद्भाव नबिग्रियोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानरपालिका क्षेत्रमा गएको शुक्रबार रातिदेखि शनिबार रातिसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञाको कारण शनिबार दिनभर धरान सुनसान बनेको थियो । जातीय र धार्मिक विवाद बढ्दै गएपछि सम्भावित हिंसा रोक्न धरानमा निषेधाज्ञासँगै शनिबार ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । निषेधाज्ञाको अवधिमा कुनैपनि अप्रिय घटना नभएपछि स्थानीय प्रशासनले धरानमा आइतबार बिहानदेखि निषेधाज्ञा हटाएको हो ।

निषेधाज्ञा अवधिमा धरान प्रवेश गर्ने पश्चिम बाटो वराहक्षेत्र नगरपालिका–१ मा पर्ने झण्डा चोकदेखि धरानतर्फको क्षेत्र र धरान प्रवेश गर्ने पश्चिम–दक्षिण रामधुनी नगरपालिका–६ बाट वराहक्षेत्र नगरपालिका–३ चोकबाट धरानतर्फको क्षेत्र प्रवेशमा कडाइ गरिएको थियो ।

त्यस्तै, इटहरी–२० तरहरा पानीपियादेखि उत्तर धरान क्षेत्र, धरान–५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरान क्षेत्र र धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको थियो ।

धरानभित्र पनि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो । धरानमा गर्ने भनिएको प्रदर्शनमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएर प्रतिबन्ध गरेपछि शनिबार हिन्दू धर्म समर्थकहरूले इटहरीमा प्रदर्शन गरेका थिए ।

धरानमा गाई गोरु काट्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने माग राखेर इटहरीमा हिन्दू धर्म समर्थकहरूले प्रदर्शन गरेका हुन् ।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, धरानका मेयर हर्क सामपाङ र राष्ट्रिय मानवअधिकार आयोगले धरानमा साम्प्रदायिक सद्भाव कायम राख्न अपिल गरेका छन् ।

त्यसैगरी धरानमा सामाजिक एकता कायम राख्न विभिन्न राजनीतिक दल, धरानका पूर्वमेयरसहित विभिन्न संघसंस्था र नागरिक समाजले पनि अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *