Samajik Feed – News Portal from Nepal

सप्तरी, ८ भदौ । सप्तरीको प्रहरी हिरासतमा रहेकी एक महिलाले आफूमाथि प्रहरी अधिकृतले यातना दिई बलात्कार गरेको आरोप लगाएकी छन् ।

कर्तव्य ज्यान मुद्दामा पक्राउ परेपछि हिरासतमै रहेका बेला इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुखले कुटपिट गरी जबरजस्ती करणी गरेको अभियुक्त महिलाले आरोप लगाएकी हुन् ।

उनलाई उपचारका लागि वैशाख १२ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो । जिल्ला प्रशासनबाट स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्‍याएपछि उनले अस्पतालको रेकर्डमा प्रहरीले बलात्कार गरेको र कसैलाई भनेमा जेलमा २० वर्ष थुनाएर सडाउने धम्की दिएकाले कसैलाई भन्न नसकेको लेखाएकी छन् ।

पीडित महिलाले अस्पतालमा दिएको बयानलाई गोप्य राखिएको छ। महिलाले अस्पतालमा दिएको बयानका आधारमा मुद्दा अगाडि नबढे पछि उनले जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुधबार लिखित उजुरी दिएकी छन् । उजुरीमा महिलाले चैत ६ गते राति नाम थाहा नभएको प्रहरीले सोधपुछ गर्न हाकिमले बोलाएको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुखकहाँ लगेको र मादक पदार्थ सेवन गरेर बसेका प्रमुखले कुटपिट गरी मुख थुनी बोल्न कराउन नदिई जबरजस्ती करणी गरेको उल्लेख गरेकी छन् ।

बलात्कारको घटनाबारे कसैलाई नभनेमा अभियोगबाट छुटाइ दिने र नोकरीसमेत लगाइदिने आश्वासन दिई अनुचित प्रभावमा पारेको पीडितले बताएकी छन् । प्रलोभन, धम्की र हिरासतमा रहेका कारण बाहिर आउन नसकेको यो घटना निकै दिनपछि थाहा पाएको पीडितकी आमाले बताएकी छन् । कर्तव्य ज्यान मुद्दामा चैत ४ गते नै महिला पक्राउ परेकी थिइन् । उनको पोलिग्राफ परीक्षण चैत ८ गते भएको थियो ।

यस विषयमा सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले महिलाले आरोप लगाए पनि आन्तरिक अनुसन्धान गर्दा त्यस्तो नदेखिएकाले मुद्दा नचलाइएको बताएका थिए । अहिले लिखित उजुरी नै लिएर गएका कानुन व्यवसायीले दर्ता गरी अनुसन्धान गर्न आग्रह गर्दा एसपी कार्कीले प्रहरी अधिकृतकै विरुद्धको मुद्दा सहजै दर्ता गर्न नसकिने उत्तर दिएको बताएका छन् । (यो समाचार अन्नपूर्ण पोष्टबाट साभार गरिएको छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *