काठमाडौँ, ७ भदौ । मन्त्रिपरिषद् बैठकले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको अमेरिका भ्रमण स्वीकृत गरेको छ ।
साउन ३० गते बसेको मन्त्रिपरिषद्को निर्णय बिहीबार सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले सार्वजनिक गरेकी हुन् । जसअनुसार असोज १३ देखि १७ गतेसम्म अमेरिकाको टेक्सासमा आयोजना हुने कार्यक्रममा सहभागी हुन वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको भ्रमण स्वीकृत गरिएको छ ।
त्यस्तै मन्त्रिपरिषद्ले चिकित्सा शिक्षा आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत निकायहरूका राजपत्राङ्कित श्रेणीका ७४ अस्थायी दरबन्दी स्वीकृत गर्ने, गीत सङ्गीतमार्फत राष्ट्रलाई पुर्याएको योगदानको कदर स्वरूप स्व. जेबी टुहुरे (जुठबहादुर खड्गी)लाई जनगायक उपाधि प्रदान गर्ने, सहरी विकास मन्त्रालयअन्तर्गत नयाँ सहर आयोजनालगायतका मन्त्रालय निकायहरुको आर्थिक वर्ष २०८०/८१ को लागि राजपत्रांकित श्रेणीका ४६९ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।
सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको लागि ५८ जना राजपत्राङ्कित कर्मचारीको अस्थायी दरबन्दी पनि स्वीकृत गरेको छ ।
बैठकले युनिसेफको आयोजनामा नेदरल्यान्ड्सको हेगमा आयोजना हुने माइक्रोनुट्रेन्ट फोरमको छैटौँ ग्लोबल कन्फ्रेन्स कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. आरपी बिच्छीलाई सहभागिताका लागि स्वीकृति दिने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले एसियाली विकास बैंकबाट रुरल कनेक्टिभिटी इन्प्रुभमेन्ट प्रोजेक्ट एडिसनल फाइनान्सिङका लागि प्राप्त हुने सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने, आर्थिक वर्ष २०८०/०८१ का लागि नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजना र सो आयोजनाअन्तर्गत विकेन्द्रित आयोजना सहयोग इकाइहरुका लागि आवश्यक १९ वटा राजपत्राङ्कित पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले प्रतापपुर हेल्थपोस्टको नाममा रहेको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) साविक प्रतापपुर गाविस वडा नम्बर ४ घ स्थित ०–९–१३ बिघा जग्गा प्रतापपुर गाउँपालिकालाई प्रशासकीय भवन निर्माणार्थ उपयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
सरकारले लमजुङ जिल्ला हाल बेँसीशहर नगरपालिका ३ स्थित १७–१४–३१ रोपनी सार्वजनिक प्रकृतिको जग्गा सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म लमजुङलाई प्रयोग गर्न स्वीकृति दिने, भू–उपयोग (पहिलो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने, काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको विस्तृत आयोजना प्रतिवेदन परिमार्जन गर्न स्वीकृति दिने, माथिल्लो दरौदी बी साना जलविद्युत् आयोजनाको भौतिक पूर्वाधारहरु निर्माण गर्न गोरखा जिल्लाको सुलीकोट गाउँपालिका वडा नं. २ र अजिरकोट गाउँपालिका वडा नं. १ मा रहेको राष्ट्रिय वन क्षेत्रको ४.९२ हेक्टर जग्गा २५ वर्षसम्म प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।