विराटनगर, ६ भाद्र । नवजात शिशु बिक्री गरेको आरोपमा विराटनगरस्थित ग्रिनक्रस अस्पतालका चिकित्सक डा. तपेश्वरलाल कर्ण पक्राउ परेका छन् ।
कोशी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्टसमेत रहेका डा. कर्णले अविवाहित जोडीको सम्बन्धबाट जन्मिएको शिशु निःसन्तान दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पुष्टि भएको हो । उनले भोजपुर हतुवागढीका अविवाहित गोविन्द राई र उनकी प्रेमिकाको सम्बन्धबाट गत असार १४ गते ग्रिनक्रस अस्पतालमा जन्मिएकी शिशुलाई मोरङका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पुष्टि भएपछि पक्राउ परेका हुन् ।
प्रहरीले कर्णसँगै शिशु खरिद गर्ने दम्पतीलाई पनि पक्राउ गरेका छन् । डा. कर्णलाई गत शुक्रबार प्रहरीले नियन्त्रण लिने प्रयास गर्दा उनी बिरामी भएको भन्दै कोशी अस्पतालमा भर्ना भएका थिए । हिजो डिस्चार्ज भएपछि उनलाई हिरासतमा लिइएको हो ।
कोशी अस्पतालमा झण्डै अढाई दशक स्त्री रोग विभागमा काम गरेर सेवा निवृत्त भएका कर्ण २०७० चैत १९ देखि २०७१ असोज १४ गतेसम्म यो अस्पतालको मेडिकल सुपरिन्टेण्डेन्ट थिए । उनी लामो समयदेखि अवैध सम्बन्धबाट जन्मिएका शिशु निःसन्तान दम्पतीलाई बिक्री गर्ने कार्यमा संलग्न हुँदै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
डा. कार्णले यसअघि गत असारमा अविवाहित ऋषिदेव थरकी युवतीले जन्माएको शिशु पनि काठमाडौँका अग्रवाल थरका एक निःसन्तान दम्पतीलाई बिक्री गरेको अनुसन्धानबाट खुलेको छ । उनले अवैध सम्बन्धबाट जन्मिएका दर्जनभन्दा बढी शिशुलाई मोटो रकममा बिक्री गरेको हुन सक्ने प्रहरीको अनुमान छ । यस विषयमा प्रहरीले सुक्ष्य अनुसन्धान गरिरहेको छ ।