Samajik Feed – News Portal from Nepal

भक्तपुर, ४ भदाै । भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृहबाट करिब डेढ सय बालबालिका भागेका छन् । विभिन्न अपराधमा मुछिएका बालबालिकाहरू सुधारगृहमा तोडफोड गरी फरार भएका हुन् । सुधारगृहमा दुई सय ५६ जनामध्ये ३२ महिला र केही पुरुष मात्र बाँकी रहेको बताइएको छ ।

भाला, छुरी लिएर आएका केही व्यक्तिले करिब डेढ सय कैदीलाई पछाडिको ढोका फोडेर भगाएको प्रहरीले जनाएको छ । एक जना १८ वर्षका कैदीको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले बिहान सुधारगृहअगाडि विरोध प्रदर्शन गरेका थिए ।

विरोध प्रदर्शनको केही समयपछि कैदीहरू पछाडिको ढोका फोडेर भागेका हुन् । यसअघि बाल सुधारगृहमा बन्दी बालबालिकाहरूले प्रदर्शन गरेका थिए । त्यस क्रममा झडप हुँदा ६ बन्दी र १२ सुरक्षाकर्मी घाइते भएका छन् । भाग्नेमध्ये ८४ बन्दीलाई भने प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।

सुधार गृहमा रहेका रामेछाप मन्थली नगरपालिका-३ का १८ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएको थियो । उनी बलात्कार आरोपमा तीन वर्षदेखि सुधार गृहमा थिए ।

शनिबार राति बेहोस भएका बस्नेतलाई आइतबार बिहान उपचारका लागि भक्तपुरस्थित नागरिक अस्पताल लगिएको थियो । अस्पतालले केहीबेरमै मृत घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *