काठमाडौँ, ३ भदौ । जनमत पार्टीले आन्तरिक मूल्यांकन प्रणालीमा असफल भएका चार प्रदेश सांसदलाई कारबाही गर्ने तयारी गरेको छ । जनमतले मधेशका १३ र लुम्बिनीका ३ गरी १६ प्रदेश सांसदको कार्यसम्पादन मूल्यांकन गरेको हो । मूल्यांकनमा असफल भएका चार सांसदमाथि कारबाही सुरु गर्ने जनमतको तयारी छ । यसरी मूल्यांकनमा असफल हुनेमा सांसद्हरू चन्दन सिंह, अनिता साह, भाग्यश्रीकुमारी चौधरी र त्रिभुवन साह छन् । जसमध्ये त्रिभुवन साह सिरहा क्षेत्र–४ (क) बाट निर्वाचित सांसद् हुन् ।
पार्टीका तर्फबाट प्रदेशसभा सदस्य रहेकाहरूको मूल्यांकन गर्न आन्तरिक मतदान भएको थियो । मतदानमा ५० प्रतिशतभन्दा कम मत ल्याउने प्रदेशसभा सदस्यलाई आवश्यक छानबिन गरी फिर्ता गराउनेसम्मका प्रक्रिया जनमतले अगाडि बढाउने भएको हो । सांसद् सिंहको पक्षमा १४ र विपक्षमा २८ मत परेको छ । अनिताको पक्षमा १४ र विपक्षमा २३, भाग्यश्रीको पक्षमा २१ र विपक्षमा ७९ मत परेको छ ।
त्रिभुवन साहको पक्षमा २० र विपक्षमा ७९ मत आएको थियो । यी प्रदेशसभा सदस्यहरूले ५० प्रतिशतभन्दा कम मत ल्याएकाले कारबाहीमा पर्ने सचिव बीपी साहले बताएका छन् । मधेश प्रदेशकी प्रदेशसभा सदस्य हसिना खातुनले भने ५० मत ल्याइन् । उनको पक्षमा ८ र विपक्षमा ८ मत खसेको थियो । त्यसैले उनीमाथि भने छानबिन मात्रै हुनेछ ।