Samajik Feed – News Portal from Nepal

जनकपुरधाम, ०३ भदाै । जनकपुरधामस्थित मोनाष्टिक आवासीय उच्च माध्यमिक विद्यालयले कक्षा १२ को वार्षिक परीक्षामा मधेश प्रदेशमै प्रथम स्थान ल्याएको दाबी गरेको छ । उत्कृष्ट विद्यार्थीहरूको सम्मानमा आइतबार गरेको कार्यक्रममा विद्यालयका निर्देशक डा‌. सोनु साहले यस्तो दाबी गर्नुभएको हो ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा व्यवस्थापन संकायतर्फ सुनिल साहले ३ दशमवल ८७ अंक ल्याई प्रदेशमै प्रथम स्थान हासिल गरेको विद्यालयको दाबी छ । त्यस्तै, विज्ञान संकायतर्फ श्रुति यादवले ३ दशमवल ७२ र कानूनतर्फ सुनिल यादवले ३ दशमलव ६० अंक ल्याई उत्कृष्ट स्थान प्राप्त गरेको पनि विद्यालयले दाबी गरेको छ ।

मोनाष्टिक उच्च माविले यस वर्ष ४ सय ५० परीक्षार्थीलाई कक्षा १२ को परीक्षामा सहभागी गराएको थियो । कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई विद्यालयले सम्मान गरेको छ ।

उत्कृष्ट विद्यार्थी सुमित साहलाई नगद ११ हजारसहित सम्मानपत्र र मेडल, श्रुति यादवलाई नगद ८ हजारसहित सम्मानपत्र र मेडल तथा सुनिल यादवलाई नगद ५ हजारसहित सम्मानपत्र र मेडल हस्तान्तरण गरिएको छ ।

यस अवसरमा निर्देशक डा. सोनुले शिक्षा क्षेत्रमा मोनाष्टिकले देशकै पहिचान कायम गर्न सफल भएको बताउनुभयो । उहाँले शैक्षिक गुणस्तरीयतालाई मूल मन्त्र मानेर आफ्नो विद्यालय अगाडि बढेको र उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई जनकपुरधामबाहिर जानुपर्छ भन्ने मान्यता अब क्रमशः हट्दै गएको पनि बताउनुभएको थियो ।

सम्मानित हुने विद्यार्थीहरूले मोनाष्टिकको उत्कृष्ट शैक्षिक वातावरणमा अध्ययन गर्न पाउँदा आफूहरूले सोचेजस्तो नतिजा ल्याएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *