विराटनगर, ३ भदाै । विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा जन्मिएको नवजात शिशु हराएपछि चिकित्सकसहित दुई जना पक्राउ परेका छन् ।
अविवाहित युवतीबाट जन्मिएको नवजात शिशु हस्पिटलबाट हराएपछि मोरङ प्रहरीले स्त्री तथा प्रसूति रोग विशेषज्ञ ६८ वर्षीय डा. तपेश्वरलाल कर्णसहित दुई जना पक्राउ गरेको हो । डा. कर्ण र भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जन दाहालले जानकारी दिएका छन् । पक्राउ पर्ने राई २६ वर्षीया युवतीका प्रेमी हुन् । असार १३ गते उनले ग्रिनक्रस हस्पिटलमा ‘नर्मल डेलिभरी’मार्फत् नवजात शिशु छोरीलाई जन्म दिएकी थिइन् ।
असार १४ गते दिउँसो डिस्चार्ज भएकी प्रेमी गोविन्दले बच्चा बिना नै इटहरी लिएर गएको युवतीले बताएकी छन् ।
‘बच्चा बिना नै ट्याम्पोमा राखेर उहाँ (गोविन्द) ले मलाई इटहरी पुर्याउनु भयो । बसपार्क छेउको होटेलमा कोठा लिएर राख्नु भयो । बच्चा खोइ भन्दा अस्पतालमै छ भन्नु भयो । दुई दिनपछि असार १६ गते मेरो काम छ, बस्दै गर्नु भन्दै होटेलबाट निस्किनु भयो । त्यसपछि फर्किएर आउनु भएन ।’ युवतीले भनिन् ।
होटेलमा अलपत्र छाडेर हिँडेका गोविन्द फर्किएर नआएपछि आफू सुनसरीको सोनापुर आएर बसेको उनले सुनाइन् । ‘मैले जिउँदै बच्चा जन्माएकी हुँ । छोरी जन्मिएको भनेर नर्सहरूले भने । पछि डिस्चार्ज गर्दा बच्चा दिएनन् । गोविन्दले नै बच्चा राख्ने व्यवस्था मिलाएजस्तो लाग्यो,’ उनले भनिन्, ‘मैले जन्माएको बच्चा अहिलेसम्म मेरो साथमा छैन । अस्पतालबाटै गायब बनाइयो । सुत्केरी अवस्थामा गोविन्दले पनि छाडेर हिँडेपछि अलपत्र परेँ। धेरै पीडा सहेर बसेँ ।’ बिहे गर्ने प्रलोभन देखाएका गोविन्दले सुत्केरी अवस्थामा आफूलाई अलपत्र पारेर हिँडेको र अस्पतालसँगको मिलेमतोमा बच्चासमेत गायब बनाएको उनको आरोप छ ।
होटेलमा अलपत्र छाडेर गएका प्रेमी नफर्किएपछि उनी प्रहरीको शरणमा पुगेकी हुन् । उपचारमा संलग्न चिकित्सक र प्रेमविरुद्ध साउन ३२ गते बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङमा किटानी जाहेरी दिइन् । जाहेरीका आधारमा प्रहरीले डा. कर्ण र उनका प्रेमी बच्चाको बाबु भनिएका गोविन्दलाई पक्राउ गरेको छ ।
डा. कर्णले ८ महिना पूरा भएर ९ महिना लागेको बच्चा अभिभावकलाई बुझाइसकिएको बताएका छन् । तर, पक्राउ परेका गोविन्द र युवतीले बच्चा आफूहरूसँग नरहेको बताएका छन् ।
बच्चा कसले कहाँ पुर्याइयो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । चिकित्सक र गोविन्दलाई सँगै राखेर सोधपुछ गर्ने प्रहरीको तयारी छ ।
बिहे गर्ने भनेका गोविन्दले युवतीलाई सुत्केरी अवस्थामा छाडेर हिँडेका कारण गोविन्दको भूमिका शंकास्पद देखिएको प्रहरीको भनाइ छ ।