काठमाडौँ, ३ भदाै । काठमाडौँको अन्नपूर्ण चोकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
आइतबार बिहान बालाजुबाट कलंकीतर्फ आउँदै गरेको ना ५ ख ५०९२ नम्बरको बसले स्वयम्भुनजिकै अन्नपूर्ण चोकमा विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश-०२-०३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा ३२ वर्षीय रामकुमार भारती र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकाकी ३२ वर्षीय अनिता थापाको मृत्यु भएको छ ।
मृतक पुरुषको ठेगाना खुलिसकेको छैन । मोटरसाइकलमा सवार १० वर्षीया बालिका गम्भीर घाइते छिन् । उनको पनि परिचय खुलिसकेको छैन । उनको कलंकीस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।
मोटरसाइकललाई ठक्कर दिने बसका चालक धादिङ गंगाजमुना गाउँपालिका-७ का ४१ वर्षीय दानबहादुर थापालाई पक्राउ गरिएको छ ।