काठमाडाैँ, २ भदाैं । करिब ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकहरूसँग नेपाली नागरिकताका साथै भारतीय आधार कार्ड पनि फेला परेका छन् ।
मोटरसाइकलमा राख्ने ब्रेक सुमा ल्याइएको करिब ६१ किलो सुन तस्करीमा पक्राउ परेका दुई चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड पनि फेला परेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको हो ।
यसअघि पक्राउ परेकामध्ये सात चिनियाँ नागरिकसँग नेपाली नागरिकता फेला परेका थिए । तीन चिनियासँग जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट जारी गरिएको नागरिकता र एक जनासँग जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी भएको नागरिकता फेला परेका थिए ।
पक्राउ परेकामध्ये दुई जनासँग भारतीय आधार कार्डसमेत रहेको पाइएको प्रहरी प्रवक्ता कुबेर कडायतले जनाएका हुन् । सुन तस्करी प्रकरणमा हालसम्म २३ जना पक्राउ परेका छन् । एक महिनाअघि राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर लैजान लागिएको सुनसहितको एक सय ५५ किलो रहेको ब्रेक सु बरामद् गरेको थियो ।
यो प्रकरणमा सुरुमा राजस्व अनुसन्धान विभागले सुन बरामद् गरेको विषय सार्वजनिक भएकै भोलिपल्ट साउन ४ गते चीन भाग्न लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक लिन चुवानलाई पक्राउ गरेको थियो ।
त्यसपछि ठमेलमा होटल भियना सञ्चालन गर्दै आएका तिब्तीयन मूलका थोप्तेन छिरिङ पक्राउ परेका थिए । त्यसैगरी यो प्रकरणमा टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई पनि पक्राउ परेका थिए ।