काठमाडौँ, १ भदाैं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकहरूसँग नेपाली नागरिकता रहेको पाइएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानका क्रममा पक्राउ परेका ७ चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको हो । उनीहरू सबै जनासँग जिल्ला प्रशासन कार्यालय काभ्रेबाट जारी भएको नेपाली नागरिकता भेटिएको छ ।
यो प्रकरणमा सुरुमा राजस्व अनुसन्धान विभागले सुन बरामद् गरेको विषय सार्वजनिक भएकै भोलिपल्ट साउन ४ गते चीन भाग्न लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक लिन चुवानलाई पक्राउ गरेको थियो ।
त्यसपछि ठमेलमा होटल भियना सञ्चालन गर्दै आएका तिब्तीयन मूलका थोप्तेन छिरिङ पक्राउ परेका थिए । त्यसैगरी यो प्रकरणमा टाइन मी, विङ टङ, डिङ से पा, लि नेङकाई पनि पक्राउ परेका छन् ।
त्यस्तै बेल्जियन नागरिक दावा छिरिङसँग पनि नेपाली नागरिकता भेटिएको सीआईबीले जनाएको छ ।