काठमाडौँ, ३० साउन । भारतीय राजदूतावासमा भारतको ७७ औँ स्वतन्त्रता दिवस मनाएको छ। राजदूतावासमा मंगलबार विभिन्न कार्यक्रम गरेर स्वतन्त्रता दिवस मनाइएको हो ।
समाराेहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए । राजदूत श्रीवास्तवले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यलाई स्वतन्त्रता दिवसको शुभकामना पनि दिए ।

त्यस्तै भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत् प्रस्तुत गरिएको थियो । राष्ट्रपति मुर्मूले सन्देशमा भारतको स्वतन्त्रता प्राप्तिका लागि स्वतन्त्रता सेनानीहरूले गरेको बलिदानको स्मरण गर्दै देशले विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धिहरूबारे चर्चा गरेकी थिइन् ।

यो उत्सव भारतको स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक क्षणलाई स्मरण गर्न भारत सरकारले सन् २०२१ मार्चमा सुरु गरेको ‘आजादी का अमृत महोत्सव’ कै एक हिस्सा हो ।

यसैबीच, दूतावासले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम् नातेदारलाई ५.३३ करोड रकम वितरण गरी सम्मान गरेको थियो ।
कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौँका विद्यार्थीहरूले देशभक्ति गीतका साथै अन्य प्रस्तुति प्रस्तुत गरे ।