काठमाडौँ, २९ साउन । आरती साहको हत्या भएको भन्दै न्यायको माग गरी प्रदर्शनमा उत्रिएको पीडित परिवारसहितलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सोमबार मृतक साहका बुवा, आमा, बहिनीसहित करिब २० जनालाई सिंहदरबारबाट पक्राउ गरेको हो ।
करिब दुई महिनादेखि उनीहरूले धर्ना दिँदै आएका छन् । जनकपुरधाम उपमहानगरपालिका–९ की आरती साहका माइती पक्ष झरी सहेर धर्नामा बस्दै आएका छन् । लामो समय धर्नामा बस्दासमेत सरकारले बेवास्ता गरेपछि उनीहरू सोमबार सिंहदरबार अगाडि नै प्रदर्शन गर्न पुगेका थिए । सोही क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

धनुषाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई जनकपुरधाम–९ थापा चोकमा रहँदै आएकी २२ वर्षीया आरतीकुमारी साहको दाइजोका कारण हत्या गरिएको माइती पक्षको आरोप छ ।
गत जेठ ७ गते साँझ जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोक बस्ने मोतीबाबु साहका श्रीमती २४ वर्षीय आरतीको रहस्यमय मृत्यु भएको थियो । धनुषा प्रहरीले हत्यारालाई जोगाउन खोजेको माइत पक्षको आरोप छ । निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग परिवारजनको छ । पीडित परिवारलाई उल्टै धनुषाका एसपी विश्वराज खड्का र डीएसपी वेदप्रसाद गौतमले कुटपिट गरेको भन्दै उनीहरूलाई तत्काल कारबाही गर्न पनि उनीहरूले माग गरेका छन् ।
उनीहरूले एसपी र डीएसपीलाई निलम्बन गरी कारबाही गर्नुपर्ने, जिल्ला न्यायाधिवक्ता, पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने, हत्याको सीआईबीद्वारा जाँचलगायत ६ सुत्रीय माग राखेका छन् ।
नगराइन नगरपालिका–८ खिरखिरिया माइती भएकी आरतीको उनका श्रीमान् मोतीबाबु साह, ससुरा मदनमोहन साह, सासु रेणु देवी साह र देवर रवि साह मिलेर घाँटी थिची हत्या गरेको मृतककी आमाको आरोप छ । आरतीको विवाह दुई वर्ष अगाडि भएको थियो । दहेजको थप रकम नदिँदा पटक पटक आरतीलाई उनीहरूले कुटपिट गर्दै शारीरिक र मानसिक तनाव दिँदै आएको पनि मृतकका आमाको आरोप छ । यता, केटा पक्षले आफूहरूले हत्या नगरेको दाबी गर्दै आएको छ । आरतीको हत्या आरोपमा पक्राउ परेका श्रीमान् र ससुरा पुर्पक्षमा थुनामा छन् ।