काठमाडाैँ, २६ साउन । नेपाली कांग्रेसका सांसद् तथा मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई थुनामा नराख्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ ।
शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ परेका सांसद् शर्मालाई शुक्रबार जिल्ला अदालत काठमाडौँले थुनामुक्त गर्न आदेश दिएको हो ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश डण्डपाणि शर्माको इजलासले थुनामा नराखिकन शर्माविरुद्ध अनुसन्धान गर्न पनि केन्द्रीय अनुसन्धान ब्युरोको नाममा आदेश दिएको छ ।
प्रहरीले उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएपनि बहसपछि रिहा गर्न आदेश दिइएको हो ।
शर्मालाई बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शर्मालाई पक्राउ गरेको थियो । शर्मा गत मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा मोरङ–३ बाट नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।