Samajik Feed – News Portal from Nepal

काठमाडाैँ, २६ साउन । सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सहमतिप्रति जनता समाजवादी पार्टीले आपत्ति जनाएको छ । मंगलबार सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच भएको ५ बुँदे सहमतिमा गौर हत्याकाण्डको छानबिन गर्ने सहमति भएको थियो । १७ वर्षअघिको सो काण्डको छानबिनमा जसपाका जिल्ला तहदेखि केन्द्रसम्मका नेताहरू तानिने भएपछि जसपाले शुक्रबार पत्रकार सम्मेलन नै गरी सहमतिप्रति आपत्ति जनाएको हो ।

संसदीय दलको कार्यालयमा भएको पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता मनिषकुमार सुमनले पार्टी र निर्दोष नागरिकहरूलाई फसाउने गरी यो सहमति भएको जनाएका हुन् । आफ्नो पार्टीका १३० जनाभन्दा बढी नागरिकलाई फसाउने गरी सहमति गरिएको भन्दै उनले खेद पनि व्यक्त गरेका छन् ।

उनले राष्ट्रिय मानव अधिकार आयोगलगायतका सरकार आफैंले गठन गरेको विभिन्न आयोगहरूले पनि यो हत्याकाण्डमा आफ्नो पार्टीको संलग्नता नरहेको पुष्टि भएको पनि बताएका छन् । यसअघि जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ अर्को दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेरै यस विषयमा आफ्नो असन्तुष्टि व्यक्त गरिसकेका छन् । राजनीतिक आन्दोलनको क्रममा सो घटना भएको बताउँदै आएको जसपाले सरकारले व्यक्तिगत अपराधको जस्तो गरी व्यवहार गर्नु नहुने भन्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *