Skip to main content

काठमाडौँ, २४ साउन । बाराको सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, इन्जिनियरसहित १० जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानु, लेखा अधिकृत, इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षसमेत १० जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

सिम्रौनगढ नगरपालिकाले मधेश प्रदेश सरकारको अनुदानबाट आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालित योजनाहरूमा रकम निकासा गरी योजना सञ्चालन एवं सम्पन्न नगराई रकम हिनामिना तथा भ्रष्टाचारजन्य कार्य गरेको भन्ने समेतको संसदीय अनुगमन विशेष समिति मधेश प्रदेशको प्रतिवेदनबारे अख्तियारमा उजुरी परेको थियो ।

अधिकृत साह कानु, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी, इन्जिनियर सुरेश कुमार यादव र सव–इन्जिनियर उपेन्द्र कुशवाहाले सिम्रौनगढ नगरपालिकाका वडा नम्बर ३ मा सामुदायिक भवन निर्माण कार्य र सोही वडाको नयकाटोलमा बर्थिङ्ग सेन्टर निर्माण कार्यमा सम्झौता विपरीत निर्माण स्थलमा भएको परिमाणको झुट्टा बिल भरपाई बनाएको, नगरपालिकासँग गरेको सम्झौताको शर्त पालना नगरी नभए नगरेको कार्यसमेत भए गरेको भनी मूल्याङ्कन गरी गराई भुक्तानीका लागि पेश भएको नापी किताब, बिल र कार्य सम्पन्न प्रतिवेदन बमोजिम रु. ३७ लाख, ९३ हजार, ३ सय ९२ रुपैयाँ स्वीकृत एवं भुक्तानी दिएको अख्तियारको ठहर छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार अधिकृत साह कानु, चौधरी, यादव र कुशवाहकलाई सैँतीस लाख त्रियानब्बे हजार तीन सय बयानब्बे रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *