काठमाडाैँ, २४ साउन । राजस्व चुहावटको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले मालपोत कार्यालय वीरगंजका अधिकृत हरिनारायण मिश्रसहित ६ जनाविरुद्ध बुधबार विशेष अदालतमा आरोप–पत्र दायर गरेको हो ।
भ्रष्टाचार आरोपमा अख्तियारले मालपोत अधिकृत हरिनारायण मिश्र, मालपोत अधिकृत सनदकुमार द्वीवेदी ब्रह्मण, मालपोत अधिकृत चन्द्रबहादुर भण्डारी, कम्प्युटर अधिकृत कमोद तिवारी, ना.सु. रामेश्वरप्रसाद साह र ना.सु. लेखनाथ भट्टराईविरुद्ध मुद्दा दायर गरेको छ ।
उनीहरूले मालपोत कार्यालय वीरगञ्जको रजिष्ट्रेशन फाँट (क) र (ग) बाट २०७३ साल साउन २ गतेका दिन रजिष्ट्रेशन पास गर्दा लिखतहरूमा घरबाटो सिफारिस बिना न्यूनतम मूल्याङ्कनभन्दा कम मूल्य राखी राजस्व हिनामिना गरेको पाइएको छ ।
लिखतहरू पारित गर्दा लाग्ने राजस्व निर्धारण गर्दा आफूले पूरा गर्नुपर्ने तोकिएको दायित्व र जिम्मेवारी पूरा नगरी बदनियतपूर्वक गरेको कार्यबाट चार लाख २५ हजार ५३१ रुपैयाँ राजस्व चुहावट भएको छ । ओरोपी रामेश्वरप्रसाद साहबाट बिगो ७ लाख ५१ हजार ८०९ रुपैयाँ र कमोद तिवारीबाट २३ हजार ४९५ रुपैयाँ बिगो माग गरिएको छ ।
त्यस्तै, चन्द्र बहादुर भण्डारीलाई चार लाख ७८ हजार ८०८ रुपैयाँ, लेखनाथ भट्टराईलाई ३९ हजार, हरिनारायण मिश्रलाई ६१ हजार २४३ रुपैयाँ, सनद कुमार द्वीवेदी ब्रह्मणलाई २ लाख २७ हजार ५५६ रुपैयाँ बिगोसहित जरिवाना माग गरिएको छ ।
यस्तो छ अख्तियारको विज्ञप्ति :
