Samajik Feed – News Portal from Nepal

सिरहा, २४ साउन । सिरहाको मिर्चैयामा एक युवक मृत अवस्थामा फेला परेका छन् । मिर्चैया नगरपालिका–६ कटारी चोकमा रहेको शम्भु होटलको पछाडि विराटनगर महानगरपालिका–१० का २५ वर्षीय सिद्धान्त भट्टराईको शव फेला परेको हो ।

विराटनगरबाट को. १ च ९१७२ नम्बरको पिकअप गाडीमा कापी (अभ्यास पुस्तिका) को मार्केटिङ्ग गर्दै आएका भट्टराईले शम्भु होटलनजिकै रहेको सहदेव होटल बास बस्नका लागि बुक गरेका थिए । गाडी चालक २७ वर्षीय सागर राईसँगै सहदेव होटलमा बसेका भट्टराई गएराति करिब ११ बजे निस्किएर शम्भु होटलमा पुगेका थिए ।

उनी शम्भु होटलमा वियर खरिद गर्न पुगेका थिए । होटलका सञ्चालक शम्भु साहले भने, ‘भट्टराई राति ११ बजेको आसपासमा आफ्नो होटलमा आएर वियर मागेर पिएका थिए । केहीबेरमा शौचालय कता छ सोधेको, आफूले शौचालय देखाइदिएँ । शौचालयबाट फर्किने क्रममा भित्र नआई माथि छतमा चढ्यो होला, छतबाट लडेको हुनक्छ ।’

साहले थपे, ‘हामी काममा भएकाले तत्काल थाहा पाएनौँ, राति एक बजे मैले नै देखेँ र तत्काल प्रहरीलाई खबर गरेको हुँ, प्रहरी पनि तत्काल आइपुग्यो ।’

यता, इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र बस्नेतले घटनाको अनुसन्धान भइरहेकाले तत्काल केही भन्न नसकिने बताए । छातीमा नीलडाम देखिएकाले घटना शंकास्पद भएको स्थानीयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *