धनुषा, २३ साउन । धनुषामा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । मिथिला नगरपालिका–२ स्थित अनन्तपुरमा खोलाले बगाउँदा सोही ठाउँका १६ वर्षीय अजय यादवको मृत्यु भएको हो । गएराति यादवलाई बाढीले बगाएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिएका छन् ।
गम्भीर घाइते भएको अवस्थामा उद्धार गरी उनलाई अस्पताल पुर्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै, कमला नदीमा बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन् । गणेशमान चारनाथ नगरपालिका–७ का ३५ वर्षीय साजन परियार र ३० वर्षीय माया परियार बेपत्ता भएका छन् । उनीहरू श्रीमान–श्रीमती हुन् । नदीबाट दाउरा टिपेर घर फर्किने क्रममा बाढीले उनीहरूलाई बगाएको प्रहरीले जनाएको छ । उनीहरूको खोजी कार्य जारी छ ।