जनकपुरधाम, २१ साउन । कमिशन लिएर बजेट रकमान्तर गरेको आरोप लागेपछि मधेश प्रदेशकी मन्त्री सुनिता यादवले आरोप प्रमाणित गर्न चुनौती दिनुभएको छ । आइतबार सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेख्दै उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री यादवले यस्तो चुनौती दिनुभएको हो ।
मन्त्री सुनिता यादव र मन्त्रालयका सहायक वन अधिकृत लालबाबु यादवले शंकास्पद रकमान्तर गरेको उजुरी अख्तियार दुरुपयोग आयोग बर्दिबासमा परेको छ । यही उजुरीमा लगाइएका आरोपको उहाँले खण्डन गर्नुभएको छ । उहाँले उजुरी हाल्दैमा कोही दोषी नहुने भन्दै प्रमाणित हुनुपर्ने बताउनुभएको छ ।
मन्त्री यादवले उजुरी हालेर आफ्नो चरित्र हत्या गर्न खोजिएकाे आफू रतिभर विचलित नभएको पनि बताउनुभएको छ । मन्त्री यादवले अख्तियारले गर्ने छानबिनमा आफ्नो र मन्त्रालयको पूर्ण सहयोग रहने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।
उहाँले लेख्नुभएको छ, ‘उजुरीमा कुनै सत्यता नरहेको, आम जनतालाई भ्रमित पारी मेरो चरित्र हत्या गर्ने सुनियोजित योजना मात्र रहेको छ । यसबाट आफू रतिभर पनि विचलित नभई आफूमाथि लगाइएको आरोपको छानबिनमा म स्वयम् र मेरो मन्त्रालय पूर्ण रूपले सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै दूधको दूध र पानीको पानी छुटिनेमा पूर्ण विश्वस्त रहेको छु ।’
आर्थिक वर्ष २०७९/८० मा रेडबुकमार्फत् सार्वजनिक भएको ४२ करोड बराबरको योजना मन्त्री यादवले पुनः विभिन्न शीर्षकका २६३ वटा योजना कार्यक्रमहरूमा नियमविपरीत विनियोजन गरी शंकास्पद रकमान्तर गराएको आरोप छ ।
संसदबाट पारित भई रेडबुकमार्फत् सार्वजनिक गरिएका योजनाहरू संशोधन गरी पुनः रकमान्तर गर्ने अधिकार नहुँदा पनि उनले रकमान्तर गरेर भ्रष्टाचार गरेको भन्दै मन्त्री यादव र सहायक वन अधिकृत लालबाबु यादवविरूद्ध उजुरी परेको हो ।
अख्तियारले यो उजुरी सम्बन्धमा १५ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउन उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयलाई गत साउन १४ गते पत्राचार गरेको थियो ।