काठमाडौँ, २१ साउन । सरकारले अति विशिष्ठ व्यक्ति (भीभीआईपी) र विशिष्ट व्यक्ति (भीआईपी) स्वास्थ्य उपचार समिति गठन गरेको छ । आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा. डा. भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा यो समिति गठन गरेको हो ।
समितिका सदस्यहरूमा नेपालका चर्चित वरिष्ठ चिकित्सकहरूलाई समावेश गरिएको छ । जसमा प्रा. डा. भगवान कोइराला, डा. सन्दुक रुइत, डा.भोला रिजाल, प्रा.डा. शैली प्रधान, प्रा. डा. रविमान श्रेष्ठ, प्रा. डा. किरणप्रसाद श्रेष्ठ, प्रा. डा. रत्नमणि गजुरेल, प्रा. डा. सुवास आचार्य, प्रा. डा. शशि शर्मा, प्रा. डा. रमेश चाखनी, सह प्रा. डा. ध्रुव गैरे, डा. पुकारचन्द्र श्रेष्ठ, डा. महेश अधिकारी र डा. अनन्त अधिकारी छन् ।
नेपालका भीभीआईपी र भीआईपीहरूलाई नेपालमै उपचार सेवा दिलाउने लक्ष्य लिएर यो समिति गठन गरिएको हो । स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भइरहेको अवस्थामा समेत भीभीआईपी र भीआईपीको स्वास्थ्य उपचारमा ठूलो रकम विदेशमा खर्च हुन थालेपछि सरकारले यो कार्यलाई निरुत्साहित गर्न तदारुकता देखाएको छ ।
समितिले वीर अस्पतालबाट भीभीआईपी र भीआईपीको स्वास्थ्य उपचार गर्ने, उपचार व्यवस्थापनको आवश्यक कार्यसूची तयार गर्ने, विशेष चिकित्सकको समूह निर्माण गर्नेलगायतका विशिष्टिकृत चिकित्सकीय विधि तथा प्रक्रियाबमोजिम उपचारको व्यवस्थापनको कार्यविधि तयार गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पेस गर्नेछ ।
समितिको आइतबारको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले भीभीआईपी र भीआईपीले नेपालमै उपचार गर्दा आमजनतामा पनि नेपालको स्वास्थ्य क्षेत्रप्रति विश्वास गर्ने वातावरण सिर्जना हुने बताए ।