जनकपुरधाम, १९ साउन । भारतसँगै नेपालमा पनि आँखा पाक्ने रोगको संक्रमण फैलिएको छ । संक्रमण फैलिएसँगै आँखा अस्पतालहरूमा अहिले आँखा पाक्ने रोगका बिरामीको चाप बढेको छ । यो रोगलाई अंग्रेजीमा कन्जुटिभाइटिस Conjunctivitis भन्ने गरिन्छ । यो रोगको प्रकोप जनकपुरधामलगायत मधेशका जिल्लाका सीमावर्ती क्षेत्रमा बढी देखिएको छ । यसको प्रकोप न्यूनीकरणका लागि भन्दै जनकपुरधाम नगरभित्रका विद्यालयसहित शैक्षिक संस्थाहरू एक साता (साउन २६) गतेसम्मका लागि बन्द गर्नेसमेत निर्णय गरिएको छ ।
के हो कन्जुटिभाइटिस:
आँखाको नानीको वरिपरि रहेको सेता भागलाई कन्जुक्टिभा Conjunctiva भनिन्छ । यो भाग सुन्निएको अवस्थालाई कन्जुटिभाइटिस भनेर भन्ने गरिन्छ । आँखा पाक्ने रोग धेरै किसिमका हुन्छन् । अहिले फैलिरहेको संक्रमण भने भाइरल कन्जुटिभाइटिस हो । यो भाइरसको संक्रमणबाट हुने गर्दछ । यो एडिनो भाइरस Adenovirus बाट संक्रमण हुने गर्दछ । यो एक किसिमको सरुवा रोग भए पनि प्रत्यक्ष सम्पर्क भए मात्र सर्छ । आँखा पाक्ने समस्या १५ दिनसम्म रहन सक्दछ भने छिटो पनि निको हुन सक्दछ ।
आँखा पाकेको मान्छेलाई हेर्दा सर्छ ?
यो भाइरल रोग भए पनि आँखा पाकेको मान्छेको आँखामा हेर्दा भने रोग सर्दैन । संक्रमित व्यक्तिको आँखामा हेर्दैमा यो रोग नसर्ने चिकित्सकहरू बताउँछन् । संक्रमित व्यक्तिको आँखामा छुँदा, रुमाल, लुगाकपडा प्रयोग गर्दा मात्रै यो रोग सर्ने गर्दछ । संक्रमित व्यक्तिको आँखामा छुएको हातलाई सफा नगरी आफ्नो आँखामा छुदा भने यो सर्ने गर्दछ । त्यसैले आँखा पाकेको व्यक्तिलाई छुँदा वा उसले प्रयोग गरेको कपडा छुँदा साबुन पानीले राम्रोसँग हात धुनु पर्छ ।
आँखा पाक्ने रोगका लक्षणहरू:
आँखा रातो हुने, चिलाउने, पोल्ने, आँसु बगिरहने, सुन्निने, दुख्ने र केही पसे जस्तै बिझाउने, विहान उठ्दा कचेरा लागेर आँखा बन्द हुने, घाम तथा उज्यालोमा हेर्न समस्या हुने ।
संक्रमण भएपछि यसरी सावधानी अपनाउने:
बाहिर जाँदा कालो चस्माको प्रयोग गर्ने, आँखा छोइसकेपछि राम्रोसँग साबुनपानीले हात धुने, आँखामा निस्केको कचेरा तथा परेला सफा गर्न सफा कपडालाई भिजाएर आँखा बन्द गरी बिस्तारै सफा गर्ने, आँखा चिसोले तथा बरफले सेक्ने, सकेसम्म बेलुका प्रगोग गरेको सिरानीको खोल, तन्ना सफा गर्ने, यो एउटा आँखाबाट अर्काे आँखामा समेत सर्ने भएकाले पाकेको आँखा छोएको हातले अर्काे आँखा नछुने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, भीडभाड भएको ठाउँमा नजाने र चिकित्सकको सल्लाह लिने ।
आँखा पाक्ने रोगको उपचार:
आँखा पाकेको खण्डमा एन्टिवाइटिकसहितका औषधी प्रयोग गर्नुपर्ने भएकाले आफूखुशी औषधी नखाने, चिकित्सकको सल्लाह लिने ।