Samajik Feed – News Portal from Nepal

राैतहट, १७ साउन । गौर हत्याकाण्डका पीडितहरूले रौतहटको चन्द्रपुरमा बुधबार पाँचौँ दिन पनि धर्ना जारी राखेका छन् ।

१७ वर्षअघि भएको गौर हत्याकाण्डका पीडितहरूले दोषीलाई कारबाहीको माग राख्दै धर्नामा बस्दै आएका हुन् । गत शनिबारदेखि निरन्तर धर्नामा बस्दै आए पनि माग सम्बोधनमा सरकारले चासो नदेखाएको पीडितहरूको गुनासो छ । उनीहरूले संघर्ष समिति नै गठन गरी आन्दोलनमा उत्रिएका छन् ।

२०६३ साल चैत्र ७ गते तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीनिकट राष्ट्रिय मधेशी मुक्ति मोर्चाले गौर नगरपालिका–५ स्थित राइस मिल्सको चौरमा एकैस्थानमा सभा आयोजना गरेपछि भिडन्त भएको थियो । भिडन्तमा २७ माओवादी कार्यकर्ताले ज्यान गुमाएका थिए ।

ज्यान गुमाउनेमा ५ महिला र २२ पुरुष थिए । त्यस्तै, ५३ जनाभन्दा बढी घाइते भएका थिए । झडपमा रौतहटका ९, मकवानपुरका ८, बाराका ४, बाजुरा, सिन्धुली, पर्सा र दाङका एक/एक गरी २७ वाईसीएल कार्यकर्ताको मृत्यु भएको थियो । मृतकका परिवारले ९ महिनापछि राज्यबाट १० लाखका दरले क्षतिपूर्ति पाएका थिए ।

तर, अझैसम्म न्याय नपाएको भन्दै गौर हत्याकाण्डका पीडितहरू आन्दोलित भएका हुन् । हाल जसपाका अध्यक्ष रहेका तत्कालीन फोरमका अध्यक्ष उपेन्द्र यादवसहितका नेतालाई कारबाही गर्नुपर्ने उनीहरूले माग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *