जनकपुरधाम, १७ साउन । जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थाहरूलाई सबै किसिमका शुल्कको विवरण बुझाउन निर्देशन दिएको छ । उपमहानगरपालिकाले बुधबार सूचना जारी गर्दै उपमहानगर क्षेत्रभित्र सञ्चालनमा रहेका सम्पूर्ण निजी स्वास्थ्य संस्थाहरूलाई सेवाग्राहीसँग लिने सम्पूर्ण शुल्कहरूको विवरण पाँच दिनभित्र लिखित रूपमा पेश गर्न निर्देशन दिएको हो ।
स्वास्थ्य संस्थाहरूले लिने भर्ना शुल्क, बेड शुल्क, बिरामी जाँच शुल्क, प्रयोगशाला परीक्षण शुल्कहरूलगायतको विवरण माग गरिएको उपमहानगरपालिकाका वरिष्ठ उपसचिव मेहीलाल यादवले जानकारी दिनुभएको छ ।
जनकपुरधामभित्रका निजी अस्पतालहरूले मनोमानी शुल्क लिने गरेको जनगुनासो बढेपछि उपमहानगरपालिकाले नियमन गर्न सुरु गरेको हो ।
