चितवन, १७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् प्रतिनिधिसभाका सांसद् रवि लामिछानेले महिलाका लागि चितवनमा निःशुल्क ‘ब्लु बस’ सञ्चालनमा ल्याएका छन् । प्रतिनिधिसभाका सांसदमा
निर्वाचित भएको एक सय दिन पूरा भएको अवसर पारेर लामिछानले ब्लु बस सञ्चालनमा ल्याएका हुन् । यो बस सञ्चालनले जिल्लावासी महिलालाई सहज हुने उनले विश्वास व्यक्त गरेका छन् । सभापति लामिछानेले बस सञ्चालन सांसद्को क्षेत्राधिकार नभए पनि सार्वजनिक सवारीमा महिलाहरूको सुरक्षा र प्राथमिकतालाई ध्यानमा राखेर बस सञ्चालनमा ल्याएको बताए ।
हाल एउटा बस सञ्चालनमा ल्याए पनि पछि मागअनुसार स्थानीय सरकारसँग समन्वय गरी बसको सङ्ख्या थप्ने बताए । त्यस्तै उनले वैदेशिक रोजगारका क्रममा विदेशिएका नेपालीका लागि स्वदेश फर्काउन एक सय दिनको रोजगारीको विज्ञापन खोलेको पनि जानकारी दिएका छन् ।
त्यसैगरी, ६५ वर्षमाथिका वृद्धवृद्धालाई ‘मोबाइल क्लिनिक’को उपचार सेवा उपलब्ध गराउने र गम्भीर बिरामीलाई अस्पतालसम्म सहजीकरण गरिदिने उनको भनाइ छ । चितवन जिल्लामा हरेक चार महिनामा सार्वजनिक सुनुवाइ गर्ने जनाउँदै आगामी भदौ १० गते सार्वजनिक सुनुवाइ गर्ने उनले घोषणा गरेका थिए ।