जनकपुरधाम, १६ साउन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महोत्तरीमा १ सय १० फिट अग्लो राष्ट्रिय झण्डा फहराएका छन् । उपराष्ट्रपति यादवले मंगलबार मटिहानी–७ स्थित तस्मैयाबाबा उद्यानमा रहेको एक सय १० फिट अग्लो पोलमा राखिएको झण्डा फहराएर उद्घाटन गरेका हुन् ।
झण्डा उद्घाटन तथा नागरिक अभिनन्दन कार्यक्रममा उपराष्ट्रपति यादवले मटिहानी नगरमा राष्ट्रध्वज स्थापना गरी यहाँका जनताले राष्ट्रप्रति उच्च अपनत्व देखाएको बताए । मटिहानी नगर राष्ट्रध्वजको माध्यमबाट देश र मातृभूमिप्रति अगाध लगाब, जुडाब र सम्मानको प्रदर्शन गर्न सफल भएको पनि उनको भनाइ छ ।

उपराष्ट्रपति यादवले तराई–मधेश सुख्खा क्षेत्रमा परिणत भएकोमा चिन्ता पनि व्यक्त गरे । यादवले वर्षा नहुँदा यस क्षेत्रका किसानका साथै आमजनताले धेरै समस्याको सामना गर्नुपरेकाले संवेदनशील भई समस्याको समाधान गर्नु सरकारको दायित्व भएको पनि बताए ।
मटिहानी भ्रमणका क्रममा उपराष्ट्रपति यादवले पौराणिक एवं धार्मिक महत्वको लक्ष्मीनारायण मन्दिरमा पूजापाठ, सन्त तस्मैया बाबाको समाधीस्थलमा पुष्पगुच्छा अर्पण तथा लक्ष्मीसागर तलाउमा भगवान लक्ष्मीनारायणको महाआरती पनि गरेका थिए ।
यसक्रममा उनले पीरबाबा मजारको समेत दर्शन गरेका थिए। हिन्दू सनातन परम्पराका महासन्त तस्मैयाबाबा र इस्लाम परम्पराका सुफी सन्त पीरबाबा १६ औँ शताब्दीमा आधुनिक मटिहानीको जग बसाउने व्यक्तिका रूपमा मानिन्छन् ।