जनकपुरधाम, १५ साउन । मधेश सरकारले लम्पी स्किन रोगविरुद्वको खोप अभियान सुरु गरेको छ । सोमबार जनकपुरधामस्थित सीताराम गौशालामा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले खोप अभियानको शुभारम्भ गरेका हुन् ।
अभियानअन्तर्गत मधेशका आठवटै जिल्लामा आठ–आठ हजारका दरले कुल ६४ हजार खोप पठाइएको छ । मधेश प्रदेशमा लम्पी स्किन रोगबाट हालसम्म २ हजार २५ गाईवस्तुको मुत्युभएको पनि प्रदेश सरकारले जनाएको छ ।
जसअनुसार सिरहामा १ हजार एक सय १८ गाई/भैँसीसहित पशुको मृत्यु भएको छ । पर्सामा भने सबैभन्दा कम दुई पशुको मृत्यु भएको छ । खोप लगाउने अभियान सोमबारबाट सुरु भए पनि मधेशमा खोप लगाउने क्रम केही समय अघिदेखि नै चलिरहेको छ । मधेशमा हालसम्म ४५ हजार ८ सय २५ पशुलाई लम्पी स्किनविरुद्वको खोप लगाइसकिएको पनि मन्त्रालयले जनाएको छ । लम्पी स्किनका कारण सबैभन्दा बढी गाई/गोरुको मृत्यु भएको देखिएको छ ।