जनकपुरधाम, १५ साउन । मधेश प्रदेश सरकारका एक मन्त्री र एक राज्यमन्त्रीले पदबाट राजीनामा दिएका छन् । प्रदेश सरकारका विनाविभागीय मन्त्री वसन्त कुशवाहा र बिनाविभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले सोमबार मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाएका हुन् ।
राजीनामा दिने दुबै जना जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी थिए । दुबै मन्त्रीले पार्टीको निर्देशनअनुसार राजीनामा बुझाएको जनमत पार्टीका नेता बीपी साहले बताएका छन् । यसअघि मन्त्री कुशवाहाले सम्हालेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी गत जेठ ९ गते मुख्यमन्त्री यादवले नेकपा (एकीकृत समाजवादी) का गोविन्द न्यौपानेलाई दिएका थिए ।
त्यसयता कुशवाहा बिनाविभागीय मन्त्रीको हैसियतमा थिए । नेता साहका अनुसार उनीहरूका स्थानमा नयाँ दुई जनालाई सरकारमा पठाउने विष्तयमा छलफल भइरहेको छ । कुशवाहको ठाउँमा जनमत पार्टीका प्रमुख सचेतक चन्दन सिंह र यादवको स्थानमा सांसद रञ्जु खंगलाई सरकारमा पठाउने विषयमा छलफल भइरहेको साहले जानकारी दिए ।